Friday , June 18 2021
Breaking News
Home / समाचार / अस्पताल र औषधी नपाएर कोहि मर्छ भने त्यो मृ’त्यु होइन, ह’त्या हो !

अस्पताल र औषधी नपाएर कोहि मर्छ भने त्यो मृ’त्यु होइन, ह’त्या हो !

एजेन्सी । बिरामी भर्ना लिन नसक्ने भन्दै निजी अस्पतालका विज्ञप्ति धमाधम आइरहेका छन् । सरकारी अस्पतालका प्रमुखहरू भन्दैछन्, ‘हाम्रो हेल्थ सिस्टम नै कोल्याप्स भइसक्यो’ । डव्ल्यूएचओले अघिल्लै वर्ष भनेको थियो, ‘सन् २०२० भन्दा २०२१ झन् कठिन हुनसक्छ’। संसदमा, हिमालमा ठोक्किएको चिसो हावाको बयान गर्दैमा डव्ल्यूएचओको कुरा सुन्ने फुर्सद भएन ।

महामारीको एक वर्ष, नारा जुलुस र शक्ति प्रदर्शनमा प्रतिस्पर्धा गर्नेहरू अहिले कुर्सीका लागि लड्दैछन् । यो हाम्रो लागि दुर्भाग्य हो । जसलाई भोट दिएर पठायौं, दिनरात नभनि पसिना बगाएको पैसाले तलब खुवाएका छौं, उनीहरुमा थोरै पनि मानवीयता देखिएन । आफ्ना नागरिक बचाउन दिनरात खट्नुपर्नेहरू कहाँ, कुन् सरकार बन्ला र आफूले पद पाउँछु कि पाउदिनँ भन्ने ध्याउन्नमा छन् ।

थुप्रै चिकित्सक, अस्पतालका प्रमुखहरू अघिल्लै वर्षदेखि चिच्याइरहेका थिए, हाम्रो स्वास्थ्य प्रणालीमा व्यापक सुधार गरौं, तयारी गरौं, अन्य देशमा दोस्रो/तेस्रो लहर आइसक्यो । यहाँपनि आउन सक्छ, तयार भएर बसौं । नेपालीको रोग प्रतिरोधात्मक क्षमता, अम्बाको पात र बेसारमा पिएचडी गरेका प्रधानमन्त्रीलाई डाक्टरका कुरा सुन्ने फुर्सद कहाँ ? बेलैमा स्कुल/कलेज बन्द गरौं, सीमा नाकामा कडाइ गरौं, बाहिरबाट आएकाहरूलाई क्वारेन्टाइनमा राखौं, जाँच बढाऔं भनेर बिज्ञले दिएका सुझाव सुन्ने फुर्सद कहाँ थियो, मन्त्रीलाई ?

दोस्रो लहरले चेपिसक्दा, डाक्टरहरू आकुलव्याकुल भएर चिच्याउँदा (नेपालगन्जबाट) सरकारको प्राथमिकता धरहरा उद्घाटन भयो । समयमै विद्यालय बन्द नगर्ने, सीमा नाका बन्द नगर्ने, आवश्यक स्वास्थ्य तयारी नगर्ने, लकडाउनका विषयमा समयमैं निर्णय नगर्ने, चिकित्सकका कुरा सुन्दै नसुन्ने, भिड बटुलेर भाषण र उद्घाटनमा रमाउनेहरू यो भयावह अवस्थाको दोषी होइनन् ? दुई छाक टार्न नसक्नेहरूले घरभित्र थुनिएर कहिलेसम्म महामारी रोकिदिनुपर्ने ?

बेड, अक्सिजन, आइसियू र भेन्टिलेटरको जोहो गर्नुपर्ने बेला भिड बटुलेर धरहरा उद्घाटन गर्न जानेहरू यो भयावह अवस्थाको दोषी होइनन् ? टाइसुट कसेर त्यही भिडको पछि लागेर थपडी बजाउनेहरू, अहिले देशको प्राथमिकता यो होइन है, भन्नेलाई विकास विरोधी देख्नेहरू सबैभन्दा ठूला दोषी हुन् । सदनमा महामारीको तयारीका विषयमा तथ्यसहित प्रश्न गर्ने सांसदलाई उडाउने प्रधानमन्त्रीलाई परर ताली ठोक्नेहरू सबैभन्दा ठूला दोषी हुन् ।

खै तयारी, खै योजना, खै स्वास्थ्य पूर्वाधार, खै जिम्मेवारीबोध ? जात्रा, मेला, विवाह जस्ता संस्कारका विषयमा खै प्रष्ट निर्देशन ? अनि लाचार भएर स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकाल्नुपर्ने, ‘भिड गर्नेहरूको समाचार नलेखिदिनु है भनेर’ ।

देशमा अहिले रामे, श्यामे, चन्द्रे जो प्रधानमन्त्री भएपनि अक्सिजन नपाएर छट्पटीएको बिरामीलाई कुनै अर्थ राख्दैन । हरेक एक मान्छेको जीवन महत्त्वपूर्ण छ । समाचारमा मृत्यु संख्याको रुपमा आउँछ । तर, त्यो केवल संख्या मात्रै होइन, कसैको एउटा सिङ्गो जीवन समाप्त भएको हो । कसैको घर सकिएको हो, भरोसा सकिएको हो ।

अस्पताल र औषधी नपाएर कोही मर्छ भने त्यो मृत्यु होइन, हत्या हो । सरकार समयमैं भावनामा बग्न सकेको भए, अहिले हामीले आँसु बगाउनु पर्ने थिएन । आफन्त र साथी गुमाउनु पर्ने थिएन । महामारीको लडाइँ दोस्रो वर्षमा प्रवेश गरेको छ । कुर्सीको लडाइँ वर्षौंदेखि चलिरहेको छ । जीवनभर सत्ताका लागि लुचछाचुडी गर्नेहरू पनि त एकदिन मरेर जालान् । मिल्छ भने उनीहरु जुगजुग बाँचुन् ।

About admin

Check Also

नायिका आँचल शर्मा र उदित श्रेष्ठ ५० परिवारको लागि राहत लिएर सिन्धुपाल्चोकमा, (हेर्नुस् ७ तस्बिर)

काठमाडौं। नायिका आँचल शर्मा र श्रीमान डा. उदित श्रेष्ठले ५० परिवारको लागि राहत लिएर ४ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *