Saturday , June 19 2021
Breaking News
Home / समाचार / नर्सको बयान : कहिलेकाहीँ डाँको छाडेर रुन मन लाग्छ

नर्सको बयान : कहिलेकाहीँ डाँको छाडेर रुन मन लाग्छ

जबदेखि नेपालमा कोभिड सुरु भयो, तबदेखि सशस्त्र प्रहरी अस्पतालको आईसीयूमा कार्यरत छु । बीचमा लगभग कोभिडको केसहरु बन्द भइसकेको थियो । तर फेरि दोस्रो लहर आयो ।

धेरैजना कोरोना संक्रमणको शिकार भए । हामीकहाँ पनि विस्तारै संक्रमितहरु आईसीयूमा भर्ना हुन थाले ।

आईसीयूमा भर्नाको दर बढ्न थालेपछि पहिलाभन्दा यो पटक धेरै जटिल अवस्था आउँछ भन्ने अनुमान थियो । आईसीयूमा भर्ना भएका बिरामीको अवस्था हेर्दा त्यस्तै लाग्थ्यो । त्यहीकारण हामी अझ बढी सर्तक भएर काममा जुट्यौं, जति गाह्रोसाह्रो भएपनि उच्च मनोबलका साथ काम गरिरहेका छौं ।

काम गरेर घर फर्किएपछि मनमा हल्का डर चाहिँ लाग्दोरहेछ । घर परिवार पनि डराइरहेको हुन्छ । यद्यपि निरन्तर सपोर्ट गर्नुभएको छ । हामी पनि घरमा सतर्क भएर आइसोलेट भएर बस्छौं । अस्पतालबाट घर जाँदा पीसीआर परीक्षणका लागि स्वाब दिएर जान्छौं, नेगेटिभ रिपोर्ट आएपछि ड्युटीमा फर्किन्छौं ।

संक्रमितको उपचारमा लाग्दा उहाँहरुले के सोच्नुहुन्छ, त्यो ख्याल गरिरहेका हुन्छौं । आईसीयूमा २४ घण्टा नै खट्छौं, उपचार मात्र होइन, मनोपरामर्श पनि दिन्छौं । तपाईं जस्तै धेरैजना ठीक भएर गइसक्नुभएको छ भनेर सम्झाउँछौं, मनोबल बढाउन प्रयास गर्छौं ।

भेन्टिलेटरमा भएका कोरोना संक्रमित बिरामीहरुसँग प्रत्यक्ष कुरा गर्न त पाउँदैनौं । टाढै बसेर उहाँहरुलाई पनि मनोबल बढाउने कोशिस गरिरहन्छौं ।

कुनै बेलामा एकदमै नराम्रो लाग्ने अवस्था पनि आउँछ । त्यस्तो बेलामा आफूले आफैंलाई सम्झाउने र मनोबल उच्च बनाउने प्रयास गर्छौं र फेरि ड्युटीमा खटिन्छौं ।

बिरामीलाई कसरी सजिलो बनाउने भन्नेमा ध्यान दिन्छौं । त्यति गर्दागर्दै पनि बिरामीले खोजेको जस्तो केयर गर्न सकेनौं कि भन्ने प्रश्न मनमा आउँछ । आफैं हेल्पलेस जस्तो महसुस हुन्छ । तर जब बिरामी निको भएर घर जानु हुन्छ, मन खुसी हुन्छ । सबै तनावहरु भुल्छौं, मन हल्का भएर आउँछ । उहाँहरुले पनि आशिर्वाद दिएर जानुहुन्छ । हामीलाई काम गर्न अझ जोस र जाँगर लाग्छ ।

यस्तो क्षण केहीबेरमै भताभुंग हुन्छ, किनकी केयर गर्नुपर्ने बिरामी अरु पनि हुन्छन् । अथक प्रयास गर्दागर्दै बिरामीलाई बचाउन सक्दैनौं, एकदमै नराम्रो लाग्छ । कहिलेकाहीँ त सबै कुरा छोडेर कतै टाढा गएर डाँको छोडेर रुन पाए हुन्थ्यो जस्तो हुन्छ । शायद लगातारको खटाइ, अथक प्रयासका बाबजुद बिरामीलाई बचाउन नसक्दाको पीडाले कहिलेकाहीँ एन्जाइटी पनि हुन्छ होला । फेरि आफैंलाई सम्झाउँछौं । हेल्पलेस फिल गराउनु हुँदैन भनेर एकले अर्कालाई सम्झाउँछौं ।

हाम्रो समाजमा कतिले अझै पनि कोभिड केही होइन भनेर भनिरहनुभएको सुन्छु । उहाँहरुको कुरा सुन्दा अचम्म लाग्छ । यदि कोरोना केही होइन भने किन मानिसहरु दिन प्रतिदिन संक्रमित भइरहेका छन् ? हरेक दिन थुप्रैले ज्यान गुमाइरहेका छन् ? अस्पतालमा भर्ना भएकाहरुलाई बचाउन हामी दिनरात खट्नुपरेको छ ? एक पटक आफैं सोच्नुस् त !

मेरो विनम्र अनुरोध छ, कोभिड निकै जटिल प्रकारको रोग हो, यसले कुनै पनि बेला कसैलाई गाह्रो बनाउन सक्छ । यसलाई यसरी नै बुझौं, जनस्वास्थ्यका मापदण्डहरु पालना गरौं । सकभर घरमै बसौैं, आफू र आफ्नो परिवारलाई सुरक्षित राखौं ।

About admin

Check Also

यिनै हुन् दुई एसपी जसले राप्ती नदीको टापुमा फसेका चारजनाको सकुशल उद्दार गरे

दाङ देउखुरीको राप्ती नदिमा फसेका चारजनालाई सकुशल उद्दार गरिएको छ । चारदिन देखिको अविरल वर्षातका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *