Saturday , June 19 2021
Breaking News
Home / समाचार / डाक्टरहरु श्रीमती/आमाले खान बोलाएको फोन समेत रिसिभ गर्न भ्याउँदैनन्

डाक्टरहरु श्रीमती/आमाले खान बोलाएको फोन समेत रिसिभ गर्न भ्याउँदैनन्

राजविराज। राजविराजको गजेन्द्रनारायण सिहं अस्पतालका डाक्टर रोषण चौधरी विहान ८ बजे चिया खाजा खाएर अस्पताल गएपछि फर्किने कतिबेला भन्ने टुङ्गो हुँदैन। उनलाई हिजो आज चौविसैघण्टा खटिरहँदा समेत भ्याइ न भ्याइ छ । कोरोनाको दोस्रो लहर शुरुभएपछि अस्पतालमा उनको ड्युटी बढेको हो।

डाक्टर चौधरीको ड्युटी फिभर क्लिनिक, आकस्मिक कक्ष र एचडियु युनिटमा छ। जेठको तराईको गर्मीमा पिपिईसहित थप सेतो पहिरनले उनलाई उकुसमुकुस बनाएको छ।

डाक्टर चौधरी भन्छन्, ‘पहिलो लहरमा उपचारको लागि आउने ७ सयमा २० जना ‘सिरियस’ हुन्थे। अहिले अस्पताल आउने ५० जनामा ४५ जना सिरियस हुने गरेका छन्।’ कोरोना संक्रमित ह्वात्तै बढ्न थालेपछि उपचारमा भ्याई न भ्याइ भएको चौधरीले बताए।

अस्पतालमा आउने सबै बिरामीका लागि अक्सिजन प्रयाप्त छैन। न त बेड नै छ। डाक्टर चौधरी भन्छन्, ‘एकै छिनमा आकस्मिक कक्ष पुग्नुपर्छ, एकैछिनमा एचडियुमा सिरियस रहेका बिरामीको कसरी ज्यान जोगाउने चुनौती हुन्छ।’

डाक्टर चौधरीका अनुसार एकै पटक तीन–तीनजना ‘सिरियस’ बिरामी आउँछन्। अक्सिजनको सिलिन्डर एउटा हुन्छ कसलाई दिने? कसलाई नदिने? ठूलो चुनौती थपिन्छ। उनी भन्छन्, ‘सङक्रमित हुने त्रासको बीच सिलिन्डरको अभावले सेवा दिनुपर्दाको तनाव छन् थपिन्छ ।’

डाक्टरले दैनिक भोगाई सुनाउँदै भने, ‘आफू एकातिर नहेरी नहुने विरामीको उपचारमा व्यस्त भएकोबेला अर्कोतिरका विरामीको अक्सिजन लेभल बढाउँदै गर्दा, नर्सहरु हतारिँदै आउँछन् र भन्छन्, ‘बेड नं. यतिको बिरामीको अक्सिजन लेवल एकदमै डाउन भईसक्यो के गर्ने?’

आफूले सिरियस ठानेर हेरिरहेको बिरामीलाई एकैछिन नर्सको जिम्मा लगाएर अर्को बिरामीको अक्सिजन लेभल बढाउन तिर दौडिनु परेको डाक्टरले भने।

उनी र उनका टीमले धेरै बिरामीलाई बचाउन भ्याइरहेका छन्। तर, कहिले काहीँ होसमा राम्ररी बोलिरहेको बिरामी एकै छिनमा स्वाँस फेर्न छोडेको घटनाले भने डाक्टर चौधरीलाई पनि सताउने गरेको छ।

दिनभर विरामीको उपचारमा भ्याई न भ्याई भएपछि धेरैजसो दिनहरु त एकैपटक बेलुका खाना खान मात्र भ्याउँछन्। डाक्टर भन्छन्, ‘घर अस्पताल नजिकै छ । आमा र श्रीमतिको खाना खान आउन भनी फोन आएको हुन्छ। कतिदिन फोन रिसिभ गरेर अहिले भ्याउदिन भन्छु।’

‘तर कुनै दिन त श्रीमती, आमाले गरेको फोन समेत रिसिभ गर्न पाउँदिन’ डाक्टर चौधरीको कथन छ। अस्पतालमा आउने कोरना सङ्क्रमित बिरामी शुरूमै नआएर अन्तिम अवस्थामा आउने गरेकोले उपचार गर्न समस्या हुदै गएको डाक्टरको अनुभव रहेको छ।

अहिलेको अवस्थामा ज्वरो आयो, रूघाखोकि लाग्यो भने डाक्टरको सम्पर्कमा आएर पिसिआर टेस्ट गराएर बेलैमा सावधानी अपनाउनु पर्ने हुन्छ। तर, अधिकांश बिरामी डाक्टरसँग सल्लाहै नगरी फार्मेसीबाट औषधी किनेर खाएर लामो समय घरमै बिताउने र सिकिस्त भएपछि मात्र अस्पताल आउने गरेकाले निको पार्न समस्या हुने गरेको डाक्टर चौधरीको तर्क छ।

डाक्टर चौधरीले कोरोना सङक्रमित जिल्लामा ह्वात्तै बढेकाले आफै सङ्क्रमित भएमा पनि अस्पतालमा बेड पाउन नसक्ने अवस्था रहेको बताए। स्वास्थ्यकर्मीमात्र नभएर उनीहरुको परिवार पनि जोखिममा छन्। बेलुका अस्पतालबाट घर फर्किने हरेक स्वास्थ्यकर्मीलाई एउटै चिन्ता हुन्छ ‘उपचारको क्रममा सङ्क्रमित भएर श्रीमती र आमाबाबु लाई स¥या भने के गर्ने?’

उपचार त गरौला तर वेड र अक्सिजन कहाँबाट ल्याउने ? स्वास्थ्यकर्मीहरुलाई थप चिन्ताले सताइरहन्छ । डाक्टरले भने ‘हामी स्वास्थ्यकर्मी र हाम्रो परिवारका लागि यतिबेला आवश्यक पर्दा अस्पतालमा बेड भेटिने आस छैन।’ त्यसैले सर्वसाधारणले आफ्नो जीवन रक्षाको लागि आफै सचेत हुनुपर्ने बेला आएको डाक्टरले सचेत गराए।

कोभिड शुरू भएपछि स्वास्थ्य क्षेत्रमा काम गरेकैले आफन्त, छिमेकी स्वास्थ्यकर्मीको डरले टाँढिएका छन्। डाक्टर भन्छन्, ‘ छिमेकीहरु हामीलाई देख्ने वित्तिकै सकभर भेट्नु नपरोस, कुरा गर्न नपरोस भनेर तर्सिन्छन्। तर जब उनीहरुको घरमा कोही संक्रमित हुन्छन् तब रातीको १२ बजे पनि फोनबाट सोध्न थाल्छन्।’

डाक्टरको पेशा नै यस्तै हो भनेर उनीहरु रातविरात फोन गर्नेहरुलाई पनि नसुति नसुति सेवा दिइरहेका छन्। अस्पतालमा हिजोआज डाक्टरहरुलाई भगवान जस्तै मानेर व्यवहार गर्दछन्। तर अस्पताल बाहिर समाज फेरी पनि डाक्टर र स्वास्थ्यकर्मीसँगै त्रसित भइरहेका हुन्छन्।

अस्पताले जतिबेला बोलाएपनि डाक्टरहरु बिरामीको उपचारको लागि जानु परेको छ। बिरामीको कल रिसिभ गरेर सुझाव सल्लाह सहित उपचार गर्दै आएका डाक्टरहरुले छुट्टी (अफ) भएको दिन पनि आवश्यक परेको बेला सेवा दिदै आएका छन्।

सोही अस्पतालका अर्का डाक्टर कल्पना साह पनि कोरोनाको माहामारीमा फ्रन्टलाइनमा बसेर बिरामीको सेवा गरिरहेकी छिन्। उनलाई बिहान अस्पताल आउनुभन्दा घर फर्कन डर लागिरहेको हुन्छ । डाक्टर साह भन्छिन्, ‘मेरो कारणले मेरो परिवारको कोही सङ्क्रमणमा नपरुन भन्ने चिन्ता रहन्छ ।’

कोरोनाको दोस्रो लहर शुरु भएपछि उनले फिभर क्लिनिक र आकस्मिक कक्षमा बिरामीलाई निरन्तर सेवा दिदैं आएकी छिन्। फिभर क्लिनिकमा आउने बिरामीले पिसिआर गराउनुभन्दा अघि नै आफूलाई कोरोना पोजेटिभ भएको मानसिकता बोकेर आउँछन्। डाक्टर साह भन्छिन्, ‘शुरुमा त्यहीँबाट हाम्रो काउन्सेलिङ शुरू हन्छ।’ तर यसपटक पिसिआर पछि अधिकांशको पोजेटिभ नै देखिने गरेको उनले बताइन्।

कोरोनाको नयाँ नयाँ भेरियन्ट भेटिँदैछ। आकस्मिक कक्षमा आउने जुनसुकै बिरामीलाई कोरोनाकै नजरले हेरेर उपचार गरिरहेको डाक्टर साह बताउँछिन्। साह भन्छिन्, ‘उपचार गर्दाको जोखिम उत्तिकै छ। त्यसमा पनि २४ घण्टा खट्नुपर्ने बाध्यता, राति जतिबेला फोन कल आयो त्यतिबेला उपचारमा खटिनु परेको छ।’

उनले थपिन, ‘फोन, भाईबर,वार्टसप, म्यासेन्जर समेतबाट बिरामीलाई सेवा दिदै आएपनि बिरामीको चापले भ्याई न भ्याई छ ।’

कतिपय सर्वसाधारणले अहिलेपनि मास्क नलगाउने, भौतिक दुरी कायम नगर्ने, सेनिटाईजर नलगाउने भोजभतेरमा जाने हुनाले सङ्क्रमित बढ्दै गएको डाक्टर साहको भनाइ रहेको छ।

गजेन्द्र नारायण सिंह अस्पतालमा अहिले ईमर्जेन्सी, फिभर क्लिनिक ,एचडियु लगायत कोभिडको फ्रन्ट लाईनमा काम गर्ने ६ जना डाक्टर, १६ जना नर्सहरु र अन्य स्वास्थ्यकर्मीहरू रहेका छन्।

यस अस्पतालमा ७ वर्षदेखि कार्यरत स्त्री र तथा प्रसुति रोग बिशेषज्ञ डा. उषा देवले पहिले जस्तै अहिलेपनि नियमित बिरामीको उपचार गर्दै आएकी छिन्। पहिले भन्दा अहिले बिरामी प्रतिको मनसिकतामा धेरै फरक रहेको उनको अनुभव छ।

डाक्टर देवका अनुसार ओपिडीमा आउने बिरामी कोरोना बढेपछि पातलिए पनि, सुत्केरी हुन आउँने बिरामी खासै घटेका छैनन्।

डाक्टर देवले भनिन्, ‘पहिले सामान्य समस्या हुनेबित्तिकै बिरामी अस्पताल दौडिहाल्थे। अहिले अस्पतालमा कोरोना सङ्क्रमित हुने डरले बिरामीहररू अस्पताल नआएरै सामान्य अवस्थामा फोनबाटै परामर्श लिने गरेका छन्।’

कोभिड बाहेक अन्य बिरामी सामान्य अबस्थामा पहिले जस्तो अस्पताल नआउने भएपछि अस्पतालमा आएर सङ्क्रमित हुने जोखिम पनि घटेको डाक्टरको भनाइ छ।

कोरोनाको दोस्रो लहर सुरू भएपछि अस्पताल आउने डरले ग्रामीण भेगका गर्भवती महिलाहरू घर नजिकैको आफुलाई पायक पर्ने बर्थिङ्ग सेन्टरमा सुत्केरी गराउन थालेका छन्।

चेतनाको अभावमा ग्रामीण भेगमा अहिलेपनि मास्क, सेनिटाईजर लगाउन ,सामाजिक दुरी कायम गर्न संबेदनसिल नभएर दिनप्रतिदिन सङ्क्रमित बढ्दै गएको हुनाले यसबाट जोगिन एकदमै सचेत हुनुपर्ने डाक्टर देवको सुझाव रहेको छ ।

कोरोनाको दोस्रो लहरमा फ्रन्ट लाईनमा काम गर्ने टिमले आकस्मिक कक्षमा आएको बिरामीको अवस्था हेरी खतरा बाहिर छ भने आवश्यक औषधी लेखिदिने, सल्लाह र मोबाइल नम्बर दिएर पठाउने गरेका छन्।
अहिलेको जोखिम अवस्थामा अस्पताल बसियो भने कोरोना सङ्क्रमित हुने डर र तनाव बढ्ने हुनाले त्यसो गर्नु परेको डाक्टरहरू बताउँछन्।

डाक्टर देव भन्छिन्, ‘बिरामीहरू सिरियस नभईकन अस्पताल आउँन चाहैन । आईहाले भने पनि तत्काल उपचार गराएर आवश्यक, सल्लाह र फोन नम्बर लिएर आफै फर्किन हतारिएका हुन्छन्।’ अस्पतालमा सङ्क्रमीत हुने डर बिरामीमा बढेकोले हतारिएको हुनसक्ने डाक्टरहरुको अनुमान छ ।

दैनिक ६ घण्टा ड्युटी गर्ने ठाउँमा कोरोनाको पहिलो र दोस्रो लहरमा यति धेरै जोखिम उठाएर ज्यानको प्रवाह नगरि खट्ने स्वास्थ्यकर्मीलाई नेपाल सरकारले पहिलो लहरमा भत्ता दिने भनिए पनि पहिलो लहरदेखि अहिलेसम्म कुनै भत्ता दिएको छैन । सबै स्वास्थ्यकर्मीहरूले एकस्वरले कुनै भत्ता नपाएको गुनासो गरेका छन् ।

सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रंजित झा भन्छन्, ‘स्वास्थ्यकर्मीको अभाव अहिले देशभरि छ ।’ उनले थपे, ‘कोभिडमा उपचार गर्ने स्वास्थ्यकर्मीलाई चुनौती छ । अरू बिरामीलाई उपचार गर्नुभन्दा यस्तो महामारीमा उपचार गर्दा अवस्था नै भयावह हुन्छ ।’

कोभिडको पहिलो लहरमा खटिने स्वास्थ्यकर्मीलाई नेपाल सरकारले भत्ता दिने भनिएपनि दुई महिनाको मात्र दिएकोले स्वास्थ्यकर्मी, कर्मचारीहरूको मनोबल घटेको उनको कथन छ । दोस्रो लहरमा प्रदेश नं. २ को सरकारले स्वास्थ्यकर्मीलाई भत्तादिने आश्वासन दिएको मेडिकल सुपरिटेन्डेन्ट झाले बताए ।

मेडिकल सुपरिटेन्डेन्ट झाले भने, ‘सप्तरीका स्वास्थ्यकर्मीहरू गर्मीमा पिपिई मास्क लगाएर निरन्तर खटिरहँदा दिनँहु कोही न कोही ‘फेन्ट’ भएर लडिरहेका छन् ।’ तर पनि उनीहरूले आफ्नो स्वास्थ्य भन्दापनि पहिलो कर्तव्य बिरामीको उपचार ठानेर ईमानदारीताले सेवा दिदै आएका छन् । हिजोआज विरामी र उनीहरुका आफन्तले डाक्टर र स्वास्थ्यकर्मीहरुको हिम्मत र हौसलाको जताततै प्रशंसा गरेको पाइन्छ ।

About admin

Check Also

यिनै हुन् दुई एसपी जसले राप्ती नदीको टापुमा फसेका चारजनाको सकुशल उद्दार गरे

दाङ देउखुरीको राप्ती नदिमा फसेका चारजनालाई सकुशल उद्दार गरिएको छ । चारदिन देखिको अविरल वर्षातका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *