Saturday , September 25 2021
Breaking News
Home / समाचार / सुनिल क्षेत्री भन्छन्- ‘हजुरबा, हजुरआमाको देशमा खेल्न पाउँदा खुसी लाग्छ’

सुनिल क्षेत्री भन्छन्- ‘हजुरबा, हजुरआमाको देशमा खेल्न पाउँदा खुसी लाग्छ’

काठमाडौं । भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले नेपालविरुद्ध आफूहरुलाई खेल्न कठिन हुने प्रतिक्रिया दिएका छन् ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका भारतीय टोलीका कप्तान क्षेत्रीले पत्रकारसँग बोल्दै नेपाली टिम कठिन रहेको र नेपालसँग खेल्न पाउँदा खुसी लागेको बताए । ‘पहिला पनि हामीले नेपालसँग खेलेको थियौ । नेपाल कठिन प्रतिद्वन्द्वी हो,’ नेपाली मुलका भारतीय कप्तान सुनिलले भने ।

नेपाल र भारतले १७ र २० भदौमा दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दैछ । खेल साँझ साढे ५ बजे हुने बताइएको छ । दर्शकको बिषयमा भने अखिल नेपाल फुटबल संघ (एन्फा) सिसिएमसीको स्वीकृतिको पर्खाइमा छ ।

दुबै मैत्रीपूर्ण खेललाई फिफाले मान्यता दिएको छ । यस खेलले फिफा वरियता समेत प्रभाव पार्नेछ ।

कप्तान सुनिलले यस मैत्रीपूर्ण खेल आयोजना गरेको साथै आफूहरुलाई राम्रो हस्पिटालिटी दिएकोमा एन्फा तथा सरकारलाई धन्यवाद दिए । ‘नेपाल सरकार र नेपाल एफए (एन्फा) लाई धन्यवाद । यस्तो अवस्थामा पनि हामीलाई राम्रो हस्पिटालिटी दिएको छ,’ ३७ बर्षीय कप्तान सुनिलले भने ।

नेपालसँगको दुई मैत्रीपूर्ण खेलको लागि प्रशिक्षक इगोर स्टिम्याकले गत बुधबार २५ सदस्यीय टोली घोषणा गरेका थिए । भारतले यसअघि फिफा विश्वकप छनोट खेलेकै टोलीलाई निरन्तरता दिएको छ ।

दुई मैत्रिपूर्ण खेलको लागि ३७ सदस्यीय टोली नेपाल आएको हो । टोली होटल सोल्टीमा बस्नेछ ।

कप्तान सुनिलले आफ्नो टोलीले साफ च्याम्पियनसिपको तयारी राम्रोसँग गर्न नपाएको र यो मैत्रीपूर्ण खेल त्यसैको लागि राम्रो तयारी हुने बताए । यसअघि एटिके मोहन बंगान र बैगलुरु एफसीका खेलाडी मालेमा एएफसी कप खेल्न गएपछि भारतीय टोलीले बाँकी २३ खेलाडीलाई कोलकातामा प्रशिक्षण दिएको थियो । १५ दिनको प्रशिक्षण पछि भारतीय टोली नेपाल आएको हो ।

कप्तान सुनिलले एएफसी कप खेल्न गएको हुनाले नेपालविरुद्ध कुन खेलाडीले खेल्ने भन्ने अहिले नै भन्न नसकिनेसमेत बताए । ‘एएफसी कप खेलेर भर्खरै फर्किएका छौं । राम्रो तयारी हुन पाएको छैन । को खेल्ने को खेल्दैन, यहि (नेपाल) थाहा हुन्छ ।’

यस्तै कप्तान सुनिलले दुई मैत्रीपूर्ण खेलनै साफको तयारी हुने र आफूहरु मेहनत गरि आफ्नो तर्फबाट शतप्रतिशत दिएर मैदानमा उत्रने बताए ।

‘अहिले कोभिडका कारण अत्यन्तै कठिन परिस्थितिमा हुँदा साफ च्याम्पियनसिपका लागि मैत्रीपूर्ण खेलले हामीलाई धेरै सहयोग पुग्नेछ । हामी पूरा मेहनतका साथ आफ्नो तर्फबाट शतप्रतिशत दिएर मैत्रीपूर्ण खेलमा उत्रिनेछौं । त्यसपछि उपाधि जित्ने लक्ष्यसहित हामी साफ च्याम्पियनसिपका लागि माल्दिभ्स जानेछौं,’ सुनिलले थपे ।

प्रतिक्रिया दिने क्रममा उनले हजुरबुबा-हजुरआमाको देश नेपालमा खेल्न पाउँदा खुसी लाग्ने बताउँदै नेपाली टोलीको खेललाई पनि प्रशंसा गरे । नेपालमा आइपुगेपछि सञ्चारकर्मीसँगको अन्तर्वार्ताको सम्पादित अंश :

नेपालमा आएर मैत्रीपूर्ण खेल खेल्दै हुनुहुन्छ । साफ अगाडिको तयारी खेललाई कसरी लिनुभएको छ?

नेपालमा आएर खेल्न पाउँदा खुसी छौँ । मैत्रीपूर्ण खेल खेल्न नेपालसँग त्यही सहज छैन । नेपालले निमन्त्रणा गरेकोमा धन्यवाद दिन चाहन्छु । यसको निकै महत्त्व छ । अहिले कोभिडका कारण अवस्था कठिन छ । यस्तो अवस्थामा पनि नेपालले राम्रो हस्पिटालिटी दिएर बोलाउनु भएकोमा धन्यवाद दिन चाहन्छौँ । मैत्रीपूर्ण खेल नेपालसँग खेल्न पाउँदा खुसी लागेको छ ।

नेपाली टोलीलाई कसरी हेर्नुहुन्छ?

यसअघि पनि नेपालसँग खेलेका छौँ । नेपाल बलियो टोली र कठिन प्रतिद्वन्द्वी हो । पछिल्लो समय राम्रो नतिजा निकालेर राम्रो प्रदर्शन गरिरहेको छ । एएफसीमा आर्मीले राम्रो गरेको छ । नेपालले सधैँ राम्रो खेल्ने गर्छ । अहिलेको अवस्था नेपाली टोली बलियो रहेको छ । टोली फर्ममा छ । राम्रो गर्ने टोली छ ।

अहिलेको अवस्थामा कोरोना व्याप्त छ । कठिन अवस्थामा पनि भारतले साफ तयारीलाई कसरी अगाडि बढाएको छ?

अहिले हाम्रो अवस्था निकै कठिन छ । कठिन तरिकाले हामी अगाडि बढिरहेका छौँ । किनभने हाम्रो लिग सकिइसकेको छ । दुई क्लबले मात्र अभ्यास गरिरहेका छन् । साफका लागि खेलाडी पर्याप्त मात्रामा अभ्यासमा थिएनन् । दुई हप्तादेखि तयारी गरेका छौँ । सिनियर खेलाडी पनि कमैमात्र छन् । नेपालसँग हुने दुई मैत्रीपूर्ण खेल हाम्रा लागि निकै महत्त्वपूर्ण छन् ।

यी दुई खेलपछि हामी साफका लागि माल्दिभ्स जाने हो । अहिलेको अवस्थामा धेरै सिनियर खेलाडी एएफसी कपमा खेलेका छन् । दुई वटा क्लबका आठ खेलाडी माल्दिभ्समा खेलिरहेका छन् । जसका कारण हामी समयमा नै अभ्यास थाल्न सकेनौँ । जुनियर खेलाडी टोलीमा समावेश भएका छन् । उनीहरूको प्रदर्शनबाट कोच सन्तुष्ट छन् । राम्रो भन्दा राम्रो खेल्ने हाम्रो लक्ष्य छ । म पनि पछिमात्र टोलीमा आबद्ध भएको हुँ । कोचलाई मात्र थाह छ, को खेलाडी खेलाउने को खेलाडीलाई नखेलाउने भन्ने ।

सुनिल क्षेत्रका फ्यान नेपालमा पनि धेरै हुनुहुन्छ । नेपालमा खेल्दा कस्तो अनुभव हुन्छ?

नेपालमा खेल्न पाउँदा मलाई निकै खुसी लाग्छ । एउटै भाषा छ । हजुरबुबा, हजुरआमा यहीँबाट हुनुहुन्थ्यो । आमा पनि यहीँबाट हुनुहुन्छ । यस्तो अवस्थामा पनि सबै जना सुरक्षित हुनुहुन्छ । सबै नेपालीलाई सुरक्षित भएर बस्न आग्रह गर्छु ।

भारतले नेपालसँग त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भदौ १७ र २० गते प्रतिस्पर्धा गर्दैछ । रङ्गशालामा आयोजना हुने प्रतियोगितालाई नेपालले साफ तयारीका रूपमा हेरेको छ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनशिप अक्टोबर १ देखि १६ सम्म आयोजना हुँदैछ ।

नेपालले छिमेकी देश भारतसँग सन् २०१८ को विश्व कप छनोट अन्तर्गत भएको खेलमा प्रतिस्पर्धा गरेका थिए । त्यो खेल गोलरहित बराबरीमा सकिएको थियो ।

About admin

Check Also

नेपालमा सरकारी कर्मचारीले सबैभन्दा बढि घुस खाने जिल्ला कुन होला ? हेर्नुहोस्

नेपालमा सबैभन्दा बढि भ्रष्टाचार हुने जिल्ला कुन होला? हरेक जिल्लाका नागरीकलाई आफ्नै जिल्ला जस्तो लाग्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *