Sunday , September 26 2021
Breaking News
Home / समाचार / आज २५६५औँ बुद्ध जयन्ती, लुम्बिनीमा दीप प्रज्वलन गरिँदै

आज २५६५औँ बुद्ध जयन्ती, लुम्बिनीमा दीप प्रज्वलन गरिँदै

आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५औँ बुद्धजयन्ती । भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतमप्रति श्रद्धा व्यक्त गरी मनाइँदै छ । बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति प्रकट गर्दछन् । यस वर्ष कोभिड–१९ को महामारीका कारण बुद्ध जयन्तीमा कुनै औपचारिक कार्यक्रम आयोजना गरिएको छैन । कोरोना सङ्क्रमणबाट बच्न जारी गरिएको बन्दाबन्दीका कारण चैत्य, गुम्बा तथा बिहारहरुमा बौद्ध भिक्षु, भिक्षुणी, लामा, गुरुमा तथा उपासक उपासिकाहरुले पूजा तथा शान्ति प्रार्थना गरी बुद्धजयन्ती मनाउँदैछन् ।

कोरोना महामारीका कारण यसपटक बुद्ध जन्मस्थलमा समेत कुनै औपचारिक कार्यक्रम आयोजना गरिएको छैन तर बुद्ध जन्मिनुभएको मायादेवी मन्दिरमा भिक्षु, भिक्षुणी, लामा गुरु, गुरुमा र अनागरिकाहरुले पूजापाठ गर्ने र साँझ दीप प्रज्वलन गर्ने कार्यक्रम छ । कोरोना महामारीलाई मध्यनजर गरी शान्ति प्रार्थना र दीप प्रज्वलन गर्ने कार्यक्रम मात्रै तय भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले जानकारी दिनुभयो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निर्देशनको पूर्ण पालना गर्दै निश्चित भौतिक तथा सामाजिक दूरी कायम गरी पूजा र प्रार्थना गरिने कोषले जनाएको छ । आज साँझ मायादेवी मन्दिर परिसरमा रहेको पुष्करणी पोखरी परिसरमा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाहरुको निर्वाण प्राप्तिको कामना गर्दै २५६५औँ दीप प्रज्वलन गरिने कोषका सदस्यसचिव सानुराजा शाक्यले बताउनुभयो ।

विश्व जगत्मा शान्तिका अग्रदूत र एशियाका ताराका रूपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा दिनुभयो । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रूप धारण गरेको छ । बुद्धले आफ्नो ८० वर्षे जीवनकालमा ८४ हजार पटक प्रवचन दिनुभयो जुन ‘विनय’, ‘सुत्त’, ‘अभिधम्म’, ‘त्रिपिटक’ आदि पुस्तकमा सङ्ग्रहित छन् । सम्राट अशोकले इपू २४९ मा ‘हित बुद्ध जातेती लुम्बिनी ग्रामे’ भनी ब्राह्मी लिपिमा पाली भाषामा लेखेको अशोक स्तम्भ पत्ता लागेको एक शताब्दी पूरा भइसकेको छ ।

‘संसारमा दुःख छ र दुःख हटाउन सके निर्वाण वा शान्ति प्राप्त हुन्छ’ भन्ने ज्ञानका प्रवर्तक गौतम बुद्धको जन्मजयन्ती बुद्ध पूर्णिमा वा वैशाख पूर्णिमाका दिन विश्वभर मनाइन्छ । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रूपमा लिने गरेका छन् ।

राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रूपमा वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देहीको लुम्बिनीमा जन्मिनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार त्यागेर ज्ञानको खोजीमा लाग्नुभएको थियो । छ वर्ष ध्यानपछि ३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धत्व प्राप्तिपछि भगवान् बुद्धका रुपमा उहाँले विश्व प्रसिद्धि पाउनुभयो । छत्तीस वर्षको उमेरमा सारनाथमा उहाँले पहिलोपटक पाँच शिष्यलाई प्रवचन दिनुभएको थियो जसलाई ‘धर्मचक्र प्रवर्तन’ भनिन्छ ।

बुद्धले चार आर्य सत्य, आर्य अष्टाङ्गिक मार्ग, प्रतीत्यसमुत्पाद र पञ्चशीलको उपदेश दिनुभएको छ । चार आर्य सत्यमा, संसार दुःखमय छ, दुःखको कारण छ, दुखःको नाश सम्भव छ र दुःख नाशका उपायबारे बुद्ध दर्शनमा व्याख्या गरिएको छ । आर्य अष्टाङ्गिक मार्गमा सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि पर्छन् । बौद्ध दर्शनको आधारशीला प्रतीत्यसमुत्पाद हो ।

हेतुफलवादका अनुसार कुनै पनि कार्य हुनका लागि कारण चाहिन्छ । यस सिद्धान्तअनुरुप नै मानिसको जन्म मरणको चक्र चलिरहन्छ जसलाई प्रतीत्यसमुत्पाद चक्र भनिन्छ । यस चक्रमा अविद्या (अज्ञानता), संस्कार, विज्ञान (चेतना), नामरुप (मन र शरीर), षडायतन, स्पर्श, वेदना, तृष्णा, उपादान, भव (अस्तित्व), जाति (जन्म) र जरामरण पर्दछन् । यी कडीहरु मिलेर बनेको चक्र चलिरहँदासम्म मानव जीवनले दुःखबाट मुक्ति पाउन सक्दैन । दुःख मुक्तिका लागि यस चक्रलाई नै रोक्नु जरुरी हुन्छ ।

यस्तै बौद्ध दर्शन अनिश्वरवाद, अनात्मवाद र क्षणिकवाद गरी मुख्य तीन सिद्धान्तमा आधारित रहेको मानिन्छ । बुद्धले दिनुभएका उपदेशहरुलाई सुत्तपिटक, विनयपिटक र अभिधम्मपिटक गरी तीन ग्रन्थमा विभाजन गरिएको छ ।

सुत्तपिटक बौद्ध भिक्षुहरुको पहिलो सङ्गिती (सम्मेलन) बाट बुद्धको निर्वाणकालमा नै बुद्धका शिष्य भिक्षु आनन्दद्वारा तयार गरिएको यस पिटकमा बुद्धका उपदेशहरु रहेका छन् । विनयपिटकमा भिक्षुभिक्षुणीहरुका लागि बनाइएका नियम छन् भने अभिधम्मपिटकमा दार्शनिक विचारहरुको सङ्ग्रह गरिएको छ ।
विसंं २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो । विसं २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ ।

About admin

Check Also

सुत्केरीको मृत्युपछि धनगढीको नवजीवन अस्पतालमा तनाव

धनगढी। धनगढीस्थित नवजीवन अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *