Monday , August 2 2021
Breaking News
Home / समाचार / बाढीग्रस्त मेलम्चीमा जोडियो आधुनिक साइरन प्रविधि, अब यसरी गर्नेछ जीवन रक्षा

बाढीग्रस्त मेलम्चीमा जोडियो आधुनिक साइरन प्रविधि, अब यसरी गर्नेछ जीवन रक्षा

काठमाडौं । बाढीग्रस्त मेलम्ची क्षेत्रमा अत्याधुनिक साइरन सिस्टम जडान गरिएको छ । मेलम्ची नगरपालिकासँगको सहकार्यमा रामलक्ष्मण इनोभेसन प्रालिले ‘अर्ली वार्निङ सिस्टम’ (पूर्व चेतावनी प्रणाली) अर्थात साइरन प्रविधि जडान गरेको हो ।

बाढी, पहिरो लगायत आगलागी र चोरी डकैतीका घटनामा समेत यो साइरन प्रयोग गर्न सकिनेगरी यसको डिजाइन गरिएको छ । म्यानुअल स्विच सिस्टम समेत रहेको साइरन प्रणालीलाई मोबाइल नेटवर्कबाट समेत सञ्चालन गर्न सकिने बताइएको छ ।

मोबाइल नेटवर्क नभएको स्थानमा यो सिस्टमले ‘लोरा ब्याण्ड’ (लो इनर्जी ट्रान्समिटर) नेटवर्कमा काम गर्ने कम्पनीका सहसंस्थापक राम रिमालले बताए । त्यसो त यसमा खोलामा पानीको सतह बढ्दा स्वतः साइरन बज्ने सिस्टम समेत जडित छ ।

यसका लागि खोलामा सेन्सर राखिन्छ । तर खोलाको धार छिनछिनमा परिवर्तन भइरहेका कारण मेलम्ची क्षेत्रमा सेन्सर भने राखिएको छैन । हेलम्बु, सेरा, तालामाराङ, मेलम्ची, बाहुने पाटी, मानेखर्क, पाँचपोखरी र टिपेनीबाट साइरन बजाउन सकिने गरी त्यहाँका प्रहरी अधिकारीको मोबाइल नम्बरमा पहुँच दिइएको छ ।

साइरनका लागि १० अङ्कको छुट्टै मोबाइल नम्बर राखिएको छ । माथिल्लो तटीय क्षेत्रमा रहेका प्रहरी अधिकारीहरूले बाढी आएको थाहा पाउँदा उक्त नम्बरमा डायल गर्ने वित्तिकै साइरन बज्नुका साथै तल्लो तटीय क्षेत्रमा रहेका निश्चित व्यक्तिको मोबाइल नम्बरमा त्यस सम्बन्धी म्यासेज समेत आउँछ ।

मोबाइलका साथै म्यानुअल रुपमा साइरन बजाउन सकिने गरी छुट्टै स्विच समेत राखिएको छ । यस बाहेक मोबाइल एपबाट समेत साइरन बजाउन सकिन्छ । तर सबैसँग स्मार्टफोन हुन नसक्ने र स्विच जोसुकैले दबाउन सक्ने जोखिमका कारण हाललाई साइरन बजाउन मोबाइल नम्बर प्रयोगमा ल्याइएको हो ।

हाल तल्लो तटीय क्षेत्रमा मेलम्ची र बाहुने पाटीमा गरी दुई वटा साइरन जडान गरिएको छ । जसले मेलम्चीका ३५० घर र बाहुने पाटी ४०० घरपरिवारलाई समेट्ने कम्पनीका अर्का सहसंस्थापक लक्ष्मण रिमालले बताए ।साइरनका लागि सोलार, ब्याट्री, इन्भर्टर, माइक र डिस्प्ले सहितको सम्पूर्ण प्याकेज नै उपलब्ध गराइएको छ ।

जसमा एउटा प्याकेजको लागत भ्याट बाहेक दुई लाख २० हजार रुपैयाँ रहेको छ । विजुलीका लागि हाइब्रिड सिस्टम सपोर्ट राखिएको छ ।जसमा ६० वाट क्षमताको सोलार, ५७ एम्पियर आवरको ब्याट्री, एसी लाइन कनेक्सन, १०५० भीए इन्भर्टर र ७ इन्चको डिस्प्ले रहेको छ ।

मेलम्ची र बाहुने पाटीमा साइरन राखेसँगै हेलम्बु-चनौटे क्षेत्रका स्थानीयले आफ्नै पहलमा साइरन जडान गरिदिन आग्रह गरिरहेको लक्ष्मणले सुनाए ।‘हामीसँग बस्तीअनुसार ठूला-साना विभिन्न आकारका साइरन छन्,’ उनले भने, ‘मूल्य पनि त्यसैअनुसार फरक फरक छ ।

हामीसँग भएका साइरनको मूल्य ९०/९५ हजार रुपैयाँबाट सुरु हुन्छ ।’ पुरानो कम्युनिटी साइरनलाई नै अपग्रेड गरेर यो साइरन प्रणाली विकास गरिएको हो ।यसअघि गत वर्ष यो साइरन प्रणालीलाई बुटवल-पाल्पा क्षेत्रका १५-१६ ओटा ठाउँमा जडान गरिएको थियो ।

त्यस बाहेक सानिमा माई हाइड्रो, रघु गंगा हाइड्रो लगायतका स्थानमा समेत अर्लि वार्निङ सिस्टम राखिएको छ ।बाढीका लागि मात्र होइन, पहिरो जानु अघि समेत त्यसलाई डिटेक्सन गरेर चेतावनी दिने साइरन प्रणाली समेत रामलक्ष्मण इनोभेसनले बनाइसकेको छ । हाल यो सिस्टम गोरखाको केरौंजा र खानी गाउँ गरी दुई स्थानमा प्रयोग भइरहेको छ ।

समस्या परेको समयमा मात्रै साइरन प्रणालीको माग आउने भएकाले धेरै स्थानमा जडान गर्न नसकिएको राम रिमाल बताउँछन् । ‘जबजब बाढी पहिरोको प्रकोप सुरु हुन्छ, त्यसपछि मात्रै यस्तो प्रविधि राख्नुपर्‍यो भन्ने माग आउँछ, उनले टेकपानासँगको कुराकानीमा भने, ‘तर यो त स्थानीय तहले समयमै आवश्यकता मूल्याङ्कन गरेर चैत-वैशाखतिरै जडान गर्नुपर्ने प्रणाली हो ।’

स्थानीय तहले नै आवश्यकता मूल्याङ्कन गरेर जोखिमयुक्त स्थानमा समयमै अर्ली वार्निङ सिस्टम तथा साइरन प्रणाली जडान पर्नुपर्ने रिमाल दाजुभाइको सुझाव छ । जिल्ला प्रहरी कार्यालयको सहयोगमा मेलम्ची, इन्द्रावती, भोटेकोशी सबै गरेर सिन्धुपाल्चोकका २७ वटा स्थानमा साइरन जडान गर्नुपर्ने सुझाव राम लक्ष्मण इनोभेसनले दिएको छ ।

‘यसबाट पुरै सिन्धुपाल्चोक जिल्लालाई नै समेट्न सकिन्छ,’ लक्ष्मणले अगाडि भने, ‘त्यसमा १७ वटा ठूला र १० वटा सानो आकारका साइरन राखे पुग्छ ।’ जिल्लाभर पर्याप्त साइरन राख्नका लागि कुल ५० देखि ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

साइरन सिस्टमका लागि एउटा निश्चित नम्बरको मोबाइल राखिएको हुन्छ । जसलाई साइरनको सर्भरबाट नियन्त्रणमा राखिएको हुन्छ । त्यस्तै सर्भरमा साइरन बजाउन सक्ने नम्बरलाई छुट्टै रुपमा सूचीकृत गरिएको हुन्छ ।यसरी निर्धारण गरिएका नम्बरबाट साइरनको नम्बरमा मिसकल गर्दा साइरन बज्ने गर्दछ ।

यस्तो नम्बरमा कल भने उठ्दैन । साइरनको सर्भरमा प्रोग्रािङ गरेर कुन कुन नम्बरलाई साइरन बजाउन दिने वा नदिने भनेर थपघट सकिन्छ ।यतिमात्र होइन, यसरी साइरनको नम्बरमा कल आउँदा निश्चित मोबाइल नम्बरहरुमा म्यासेज समेत जाने गर्दछ । जसमा कुन नम्बरबाट कसले साइरन बजाएको हो र साइरन बजाउनुको कारण के हो भन्ने जानकारी पठाइन्छ ।

यसरी के म्यासेज पठाउने भन्ने कुरा समेत सर्भरको कन्ट्रोलबाट सेट गर्न सकिन्छ । हाल मेलम्ची-बाहुनेपाटी क्षेत्रका १८/१९ जनाको मोबाइल नम्बरमा म्यासेज जाने गरी सेट गरिएको छ ।ती नम्बरमा म्यासेज पठाउने कि नपठाउने अथवा कस्तो म्यासेज पठाउने सबै कुरा सर्भरमा पहुँच बनाएर मिलाउन सकिन्छ ।

यसका साथै साइरन सिस्टमको ब्याट्रीको चार्ज कति छ, काठमाडौंमा राखिएको सर्भरबाटै निगरानी गर्न सकिन्छ ।यसका लागि रिमोट सेट अप अर्थात (ओटीए-ओभर द एयर) प्रविधि प्रयोगमा ल्याइएको छ । यसबाट साइरन कति लामो समयसम्म बजाउने भन्ने कुरा समेत निर्धारण गर्न सकिन्छ । साइरन भएको ठाउँमा छुट्टै डिस्प्ले समेत राखिएको छ ।

साइरन बज्दा नजिकै रहेका व्यक्तिहरुले कसले कहाँबाट किन साइरन बजाएको हो भन्ने जानकारी डिस्प्लेमा हेर्न सकिन्छ । सेन्सरबाट खोलामा पानीको सतह बढेको थाहा पाउने र स्वचालित रुपमा साइरन बज्ने सिस्टम समेत यसमा छ । म्यानुअल र स्वचालित सिस्टमलाई आवश्यकताअनुसार प्रयोग गर्न सकिने गरी विभिन्न चार वटा सेड्युल बनाइएको छ ।टेकपाना

About admin

Check Also

डिर्भोस पछि पनि अभिनेता आमिर र किरण यस्तो अबस्थामा फेला परे

बलिउड अभिनेता आमिर खान यतिबेला जम्मु कश्मरिमा रहेका छन् । उनको साथमा किरण रावा पनि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *